आज तिहारको दोश्रो दिन l कुकुर तिहार

हेटौडा l  कार्तिक कृष्ण चतुर्दशी अर्थात् कुकुरतिहार। सोमबार कुकुरको पूजा गर्ने दिन। यो दिन कुकरको पूजा गरी खानेकुरा ख्वाउने परम्परा छ।

कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरपूजा गर्दा यमलोक जाँदा यमराजको द्वारपालका रूपमा रहेका ‘श्याम’ र ‘सबल नामका दुई कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ।

कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चक को दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो।  यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छl यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ।

कुकुरलाई आज्ञापालक एवम् रक्षकको रूपमा लिइन्छ। विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछ l कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको पाइन्छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। कुकुर तिहार विश्वव्यापी रूपमा गैर आवसीय नेपालीहरूले मनाउने गर्छन्।

मालिकप्रति सधैँ बफादार रहने, खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाउनेजस्ता गुण कुकुरमा छन्। सुँघ्नसक्ने उच्च क्षमताका कारण सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्छ। अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि पनि कुकुरकै प्रयोग हुँदै आएको छ। बहुगुणी भएका कारण कुकुरको पूजा गरिएको धर्मशास्त्रीगौतमको भनाइ छ।

नरके चतुर्दशी मनाइयो

कार्तिक कृष्ण चतुर्दशीको झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसी अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने विधि छ। यस्तै ‘नरक जानु नपरोस्’ भन्ने उद्देश्यले बत्ती नदीमा बगाउने विधान पनि छ। यसलाई नरक चतुर्दशी वा बोलीचालीमा ‘नरके चतुर्दशी’ भनिन्छ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.